न्याय दिलाउनेछु

nyay dilaunechhu

हजारौँ सपनाहरूको आकार धमिलिएर

अनमोल उपहारस्वरूप लुछिएको देहलाई

आत्माबाट अलग गर्न,,

अनेकौँ स्मृतिहरू टुक्रा टुक्रा पारेर

सबैबाट छुटकारा खोज्दै

आल्नाबाट आमाको पछ्यौरी झिकेर कोठाको बिचमा घुमिरहेको फ्यानतिर लम्किँदै आफ्नो अस्तित्व मेटाउन खोज्दछौ हैन ?

 

हैन यो के गर्दछौ तिमी ???

ए रुक न,

त्यो कुर्सीमा नचढ, तिम्रा बा ले छोरी मजाले बसेर पढोस् भनेर ल्याइदिएका हुन,

यसमाथि चढेर आत्महत्या गरोस् भनेर हैन

तिमी त यसलाई यही छोडेर जान्छौ

तर तिम्रा बा,

तिम्रा बा यही कुर्सी हेर्दै आफैलाई धिक्कार्नेछ बर्सौसम्म..

पख,

यो सल तिम्रो गलामा भन्दा बढी त्यो निर्जीव आल्नामा सुहाउँछ

तिम्री आमाले तरकारी बेचेर खाजा खाने पैसा बचाएर ल्याएकी हुन

छोरीको बिहेमा ओढेर राम्री देखिन, छोरीले यसैको पासो लगाओस् भनेर हैन

तिमी त यसलाई यही छोडेर जान्छौ

तर तिम्री आमा,तिम्री आमा त्यो सल फेरि छुने हिम्मत गर्न सक्दिनन्।

पछुताइरहन्छिन् बाचुन्जेल।

 

सम्झ त,

म यहाँ सुत्छु बाँदर तँ पल्लो कोठामा जा भन्दै जिद्दी गर्ने दाइ तिम्रो कोठाको चुकुल खोल्न सम्म डराउँछन्

ढोका बाहिर रुँदै चिच्याउँछन् ,

म त्यो साँझ उ सङ्गै पसल गएको भए सायद यो दिन आउने थिएन,सबै दोष मेरै हो

सानी तैँले यो के गरिस् ?

 

तिम्रो त्यो निर्दोष शरीर लुछ्ने गिद्दहरु गल्ली गल्लीमा तिमी जस्तै कसैलाई ढुक्दैछन

न्यायका मूर्तिहरू पैसाको आडमा

भुस्याहा कुकुरसरि भुक्दैछन

तिमी आफू अन्यायमा परेर मर्दै छौ?

हेर त त्यो निर्मला, मरेर पनि न्यायको निमित्त लडिरहिछ

त्यो सम्झनालाई हेर बोली नफुटेपनी मुर्दाघरबाट

इसारा गरिरहिछ

तिमी जस्तै कयौँ चेली लुटिएका छन्,बेचिएका छन्, काटिएका छन्,मारिएका छन्।

अब तिमी ती सबैको ढाल बनी उठ्नु पर्छ

सामन्ती र बलात्कारीको काल बनी उठ्नु पर्छ।

 

आऊ हातेमालो गर सङ्ग।

तिमी र म मिलेर अन्त्य गरिदिऊ त्यो कुविचार

मिल्काइदिऊ जातभात अनि भ्रष्टाचार

बाध्य बनाइदिऊ सोच्न

कि कसैमा कुदृष्टि लगाउनुको परिणाम।

आऊ अब

त्यही सलको फेटा बाँधेर आऊ

हेलाको जँगार नाघेर आउँ

तिम्रो च्यातिएको मन सिलाउनेछु।

आऊ सानी

म तिमिलाई न्याय दिलाउनेछु।

 

Share with your friends...

About the Author
Please Login to Comment.